युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी बजेट आएको छ: सञ्चारमन्त्री डा. तिमिल्सिना
नुवाकोट, १६ जेठ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकार नतिजामुखी ढंगले दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनअन्तर्गत तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको बताउनुभयो।
मन्त्री तिमिल्सिनाले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोणलाई स्पष्ट रूपमा समेटिएको बताउनुभयो। उहाँले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
“यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर विकासको स्पष्ट आधार तय गर्ने गरी बजेट ल्याइएको छ,” उहाँले भन्नुभयो। विकास र समृद्धिको नागरिक आकांक्षा पूरा गर्ने सोचअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विकास र बजेटको लाभ सीमित समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। बजेट वक्तव्यमा समेट्न नसकिएका विस्तृत योजना तथा कार्यक्रमहरू रातो किताबमार्फत सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो।
उहाँले जिल्लाका विभिन्न समस्या समाधानका लागि आफूले सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्नुभयो। मन्त्री तिमिल्सिनाले वर्तमान बजेट निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याइएको बताउँदै विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताउनुभयो। आगामी २० वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार पारिएको उहाँको भनाइ थियो।
भ्रष्टाचार, अनियमितता र बिचौलियातन्त्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उल्लेख गर्दै उहाँले यस्ता विकृतिविरुद्ध कडा कदम चालिने बताउनुभयो। “राजनीति जनताका लागि गरिन्छ। अब गलत काम गर्नेहरू कानुनी दायरामा आउनेछन्,” उहाँले भन्नुभयो।सरकारका नीति, कार्यक्रम र योजनाको केन्द्रमा नागरिक रहेको उल्लेख गर्दै उहाँले विगतमा सीमित स्वार्थ समूहको प्रभावका कारण युवामा असन्तुष्टि बढेको र त्यसैले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस भएको धारणा राख्नुभयो।
यसैगरी शिवपुरी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार, अनियमितता र बिचौलियातन्त्रको अन्त्य रहेको बताउनुभयो। उहाँले गलत कार्य गर्ने कसैलाई पनि नछाडिने स्पष्ट पार्दै अनियमिततासम्बन्धी जानकारी सम्बन्धित निकायलाई उपलब्ध गराउन आग्रह गर्नुभयो।
उहाँले कर्मचारी संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताउनुभयो। साथै दूरसञ्चार क्षेत्रमा देखिएका समस्याबारे सरकार जानकार रहेको उल्लेख गर्दै देशभरको मोबाइल नेटवर्क समस्या समाधान गरी डिजिटल विभाजन अन्त्य गर्ने योजना रहेको जानकारी दिनुभयो।
नुवाकोटमा पर्यटन विकासका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले समावेशी विकासमार्फत समग्र देशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो। सरकार आफ्ना चुनावी प्रतिबद्धताबाट विचलित नभएको बताउँदै प्रदेश र स्थानीय तहका सरकारसमेत थप उत्तरदायी र प्रभावकारी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

