बालबालिकामा कुपोषण दर उच्च, उपचारका लागि पुनःस्थापना गृहमा भीड
कञ्चनपुर, ३० कात्तिक – भीमदत्त नगरपालिका–१८ जानकीटोलकी पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल जाँदा स्वास्थ्यकर्मीले शिशुलाई दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए। शिशुको तौल मात्र ६ किलो ४०० ग्राम निस्कियो, जसले उमेरअनुसार ११ किलो हुनुपर्ने मापदण्डभन्दा निकै कम थियो। कुपोषण पुष्टि भएपछि उनलाई पोषण पुनःस्थापना कक्षमा भर्ना गरियो।
पुजाका अनुसार १० दिनको बसाइमै शिशुको तौल ७०० ग्राम बढेको छ। “घरमा खुवाउने तरिका र यहाँको पोषणयुक्त खाना निकै फरक रहेछ,” उनले भनिन्। पुनःस्थापना गृहमा दिनमा ४ पटक पोषणयुक्त खाना खुवाइने गर्छ। यस्तै समस्या भीमदत्त नगरपालिका–बागबानीकी गीता सेवाले पनि भोगेकी छन्। नियमित खोप लगाउन अस्पताल आएकी बेला शिशुको तौल कम भेटिएपछि उनी पनि पुनःस्थापना गृहमा भर्ना हुनुपरेको बताउँछिन्।
“घरमा एक–दुईपटक मात्रै खुवाउँथ्यौँ, यहाँ दिनमा चारपटक आमा–शिशु दुवैलाई पौष्टिक खाना दिनुहुन्छ,” उनले भनिन्। भीमदत्त–३ की विस्ना बोहरा पनि एक वर्षीया शिशु सहित पुनःस्थापना गृहमा भर्ना भएकी छन्। पछिल्लो समय सहरी क्षेत्रमा समेत कुपोषणका घटना बढ्न थालेका स्वास्थ्यकर्मी बताउँछन्। ग्रामीण क्षेत्रमा कुपोषण दर अझै उच्च भए पनि पुनःस्थापना गृहसम्म पुग्न नसक्ने समस्या छ।
तीन वर्ष यता भर्ना संख्या घटे पनि समस्या कायम
महाकाली प्रादेशिक अस्पतालको १० शय्याको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन्। पाँच वर्षमुनिका आमा–शिशुका लागि उपचार निःशुल्क छ। गृह प्रमुख इन्द्रा भट्टका अनुसार पछिल्ला ३ वर्षमा भर्ना हुने संख्या केही कम देखिए पनि सहरी क्षेत्रमा कुपोषण बढ्दो छ।
“समुदायमै कडा कुपोषण कम भएका हुन् कि छुटिरहेका छन्—यो खोज्नुपर्ने विषय हो,” उनले भनिन्। समुदायमा चेतनामूलक कार्यक्रम घट्नु, महिलाहरू काममा व्यस्त हुनु तथा बालबालिकालाई समयमा खाना नखुवाउनुले समस्या अझै चर्किएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
डेटा अनुसार कडा कुपोषण अझै उच्च
कञ्चनपुर जिल्लाको तथ्यांकले भने कुपोषण दर अझै चिन्ताजनक छ।
२०७९/८० आव
-
कडा कुपोषण: ३७५ बालिका, २८१ बालक
-
मध्यम कुपोषण: ४६५ बालिका, ४४५ बालक
२०८०/८१ आव
-
कडा कुपोषण: ४४४ बालिका, ३९३ बालक
-
मध्यम कुपोषण: ८२ बालिका, ६१ बालक
-
६ महिनामुनिका २४ शिशुमा कुपोषण
२०८१/८२ आव
-
कडा कुपोषण: ३६३ बालिका, २४६ बालक
-
मध्यम कुपोषण: १८ बालिका, २६ बालक
-
६ महिनामुनिका ३१ शिशुमा कुपोषण
चालु आव
-
कडा कुपोषण: ९५ बालिका, ९६ बालक
-
मध्यम कुपोषण: ६९ बालिका, ३६ बालक
-
६ महिनामुनिका ९ बालकमा कुपोषण
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी डा. विपिन लेखकका अनुसार, तथ्यांकमा कुपोषण घट्दो देखिए पनि बाल मृत्युदर घटाउने चुनौती अझै ठूलो छ। स्वास्थ्यकर्मीहरूका अनुसार रोजगारी र व्यस्तताका कारण छ महिनासम्मको पूर्ण स्तनपान गर्ने आमाको संख्या घट्दै गएको छ। आमाको दूधमा रहेका प्रतिरोधात्मक तत्व अभावमा कुपोषणसम्बन्धी समस्या बढ्ने गरेको उनीहरूको भनाइ छ।

