इन्टरनेटमा भाइरल ‘मेलि-मोदी’ भेट
काठमाडौं, ७ जेठ – नरेन्द्र मोदी को इटली भ्रमणका क्रममा जर्जिया मेलोनी को एक अभिव्यक्ति र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मेलोनीले भारत–इटली सम्बन्धको चर्चा गर्ने क्रममा हिन्दी शब्द ‘परिश्रम’ प्रयोग गरेपछि उपस्थितहरू आश्चर्यचकित बनेका थिए ।
मेलोनीले भनिन्, “एउटा भारतीय शब्द छ, जसले यसलाई धेरै राम्रोसँग व्याख्या गर्छ — ‘परिश्रम’। यसको अर्थ कडा मिहिनेत र निरन्तर प्रतिबद्धता हो । भारतमा धेरै प्रयोग हुने यो शब्दसँग एउटा चर्चित भनाइ पनि जोडिएको छ — ‘परिश्रम नै सफलताको कुञ्जी हो’ ।”
उनले अंग्रेजीमा यसको अर्थ स्पष्ट गर्दै कडा मेहनत नै सफलताको आधार भएको बताइन् । साथै, भारत र इटलीबीचको सम्बन्धलाई पनि त्यही समर्पण र प्रतिबद्धतासहित अघि बढाउने धारणा व्यक्त गरिन् । प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै मेलोनीले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाइने बताइन् ।
भ्रमणको अर्को चर्चित पक्ष भने ‘मेलि–मोदी’ ट्रेन्ड रह्यो । मोदीले मेलोनीलाई उपहारस्वरूप भारतको चर्चित चकलेट ‘मेलोडी’ दिएका थिए । मेलोनीले उक्त क्षणको भिडियो आफ्ना सामाजिक सञ्जालमा साझा गर्दै उपहारका लागि धन्यवाद दिएकी छन् । भिडियोमा दुवै नेता हाँस्दै ‘मेलोडी’ चकलेटबारे रमाइलो संवाद गरिरहेको देखिन्छ ।
‘मेलि–मोदी’ ट्रेन्ड सन् २०२५ मा भएको जी-७ शिखर सम्मेलन पछि चर्चामा आएको थियो । त्यसबेला मेलोनीले मोदीसँगको सेल्फी भिडियो पोस्ट गर्दै ‘हेलो, फ्रम द मेलि–मोदी टिम’ लेखेकी थिइन् । मंगलबार राति रोम पुगेका मोदी पाँच राष्ट्रको भ्रमणको अन्तिम चरणमा रहेका छन् । उनलाई इटलीमा औपचारिक सैनिक सम्मानसहित स्वागत गरिएको थियो ।

