डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
म्याग्दी, १० चैत – नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई रु तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले मूल्य निर्धारण अनुसार टावर निर्माण भएको जग्गाका धनी ६६ जनाले मुआब्जा पाइसकेका छन् भने सात जनाले प्रक्रिया अन्तर्गत छन्।
आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिना का अनुसार सामान्य मुआब्जा रु दुई करोड २९ लाख २९ हजार ७२८ वितरण भइसकेको छ। त्यस्तै, गरिब, महिला प्रमुख घरपरिवार, दलित/जनजाति र अशक्तको आधारमा थप रु एक करोड ३४ हजार ८३९ वितरण गरिएको छ।
आयोजनाका ८२ टावरमध्ये ४० वन क्षेत्र र ४२ व्यक्तिगत जग्गामा रहेका छन्। प्रसारण लाइनको तारमुनि पर्ने भोगाधिकार क्षेत्रका निजी जग्गा तथा घरटहरुलाई पनि क्षतिपूर्ति वितरण गर्न दररेट निर्धारणको प्रक्रियामा रहेको छ। प्रारम्भिक विवरण अनुसार ४५४ कित्ता जग्गा र पहिलो चरणमा २२ घरको पहिचान भएको छ।
सबस्टेशन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरिएको छ। वन क्षेत्र प्रयोगका लागि रु चार करोड ५० लाखमा ५०४ रोपनी जग्गा खरिद भइसकेको छ।
प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत १५ जना सवारी चालक, १५ जना हाउसवायरिङ, १९ सामुदायिक वनका दुई–दुई जनालाई तालिम दिइएको छ। सामुदायिक विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी पनि भइरहेको छ।
डाँडाखेत–राहुघाट प्रसारण लाइनको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाले ८२ मध्ये ७१ वटा टावर खडा गरिसकेको छ भने दुई बाहेक सबै टावरमा काम सुरु भएको छ। तार तान्ने काम दश दशमलव पाँच किलोमिटरमा सकिएको छ।
सबस्टेशन निर्माणमा डाँडाखेतमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाटमा ६५ प्रतिशत प्रगति भएको छ। कुल लागत रु चार अर्ब ८८ करोड अनुमान गरिएको छ। यसमा विद्युत् प्राधिकरणको रु एक अर्ब ५ करोड र एसियाली विकास बैंकको रु तीन अर्ब ८२ करोड ऋण लगानी रहेको छ।
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण भैरहेका छन्। राहुघाटमा ३५.५ मेगावाट चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाट अपर राहुघाट, २१.३ मेगावाट ठूलोखोला र २३.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेका छन्।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा छ। साथै, तुदी पावर र संयुक्त ऊर्जाका आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइन मा विद्युत् आपूर्ति गरिसकेका छन्।

