लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर ८ वटा कायम गर्ने
बुटवल, १ जेठ – लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ वटा कायम गर्ने तयारी अघि बढाएको छ।प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यले मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई मन्त्रालयहरूको संगठन संरचना पुनरावलोकन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
हाल लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा गठित समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन बुझाउन भनिएको छ।
मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालनसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ। अब आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था कार्यालय नभएका जिल्लाहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण तथा अस्थायी बाटो इजाजत सेवा स्थानीय रूपमा उपलब्ध गराइनेछ।
गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व र बर्दियामा यी सेवा घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन गरिनेछ। दाङमा पनि घरेलु तथा साना उद्योग कार्यालयबाट सेवा प्रदान गरिने निर्णय भएको छ।
बैठकले प्रदेश सचिवहरूको जिम्मेवारीसमेत तोकेको छ। नारायणप्रसाद अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव र सुशीला अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै, अध्ययनपूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीलाई प्रशासन तथा विधायन समितिमा पठाउने निर्णय पनि गरिएको छ।
वन तथा वातावरण मन्त्रालयले धार्मिक वन हस्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने तथा निजी वनमा रहेका रूखको कटान, उपयोग, ओसारपसार, बिक्री–वितरण र अनुगमन सम्बन्धी कार्यविधि, २०८३ लाई सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको छ।

