देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा झण्डै ४५ करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्रयोगविहीन
काठमाडौं, १ जेठ – देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा झण्डै ४५ करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा दक्ष जनशक्तिको अभावका कारण खरिद गरिएका उपकरण प्रयोगमा आउन नसकेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन विगत १० वर्षदेखि प्रयोगमा आएको छैन। त्यस्तै २४ करोड ७७ लाख ९ हजार रुपैयाँ मूल्यको सीटी स्क्यान प्रणाली, १४ वटा भेन्टिलेटर र पाँच वटा सी–आर्म मेसिन पनि प्रयोगविहीन छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार रुपैयाँ मूल्यका पाँचवटा लिड ईसीजी केबलका ३०० सेट प्रयोगमा आएका छैनन्।
मधेश प्रदेशस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार करोड ९० लाख ९५ हजार रुपैयाँ बराबरका एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी प्रणाली, एनेस्थेसिया मेसिन र इलेक्ट्रोकार्डियोग्राफी उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्।
सिंहदरबार वैद्यखाना विकास समितिमा सिंगल रोटरी ट्याब्लेटिङ मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाई–स्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल र इलेक्ट्रिक ट्रे ड्रायरलगायत ६० प्रकारका मेसिन प्रयोगमा आएका छैनन्।
नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान मेसिन र १.५ टेस्ला क्षमताको एमआरआई मेसिनसमेत प्रयोगमा नआएको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य सेवा विभागले खरिद गरेका ९६५ वटा हाइट बोर्ड र ९६५ वटा इलेक्ट्रोनिक तौल मापन यन्त्र पनि प्रयोगविहीन छन्। यी उपकरण ६ करोड ७३ लाख २१ हजार रुपैयाँमा खरिद गरिएको थियो।
यसअघि खरिद गरिएका एक हजार ३३६ वटा इलेक्ट्रोनिक वेट स्केल (मदर/चाइल्ड) पनि प्रयोगमा आएका छैनन्। तिनको मूल्य ६ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ।
त्यस्तै विभागले दुई करोड ४२ लाख ५४ हजार रुपैयाँमा खरिद गरेका सात प्रकारका १३३ वटा उपकरणसमेत प्रयोग नगरी थन्क्याइएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा टेलिथेरापी मेसिन विगत चार वर्षदेखि प्रयोगमा आएको छैन। रेडियोधर्मी स्रोत भएको उक्त मेसिन बंकरमा थन्क्याइएकाले यसको आयु सकिँदै गएको र विकिरणको जोखिम बढेको भन्दै महालेखाले सचेत गराएको छ।
महालेखापरीक्षकको कार्यालयले प्रयोगविहीन उपकरण तत्काल सञ्चालनमा ल्याउन तथा देशभरका स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको विवरण संकलन गरी नियमित अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

