इरानसम्बन्धी अमेरिकी प्रस्तावलाई समर्थन नगर्ने रूसको घोषणा

काठमाडौँ, २६ वैशाख – रूस ले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् मा अमेरिकाबहराइन द्वारा प्रस्तुत इरानसम्बन्धी मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ। रूसी उप–परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभ ले मस्कोले उक्त प्रस्तावमा कुनै सकारात्मक सम्भावना नदेखेको बताउँदै अमेरिका र बहराइनलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

रूसी दैनिक इज्वेस्टिया सँगको कुराकानीमा अलिमोभले सुरक्षा परिषद्को छलफलमा अमेरिका–बहराइनको संयुक्त प्रस्ताव टेबुलमा रहेको उल्लेख गर्दै रूसले त्यसलाई कुनै हालतमा समर्थन गर्न नसक्ने बताएका हुन्। उनले हतारमा निर्णय नगर्न र प्रस्ताव पुनर्विचार गर्न सह–प्रस्तावक राष्ट्रहरूलाई आग्रह गरेका छन्।

अलिमोभका अनुसार चीन र रूसले संयुक्त रूपमा तयार गरेको अर्को मस्यौदा प्रस्ताव भने अझै छलफलमै रहेको छ। उक्त प्रस्तावमा द्वन्द्वरत पक्षलाई युद्ध अन्त्य गर्न, बल प्रयोग नगर्न तथा वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरिएको बताइएको छ। रूस–चीनको प्रस्तावमा समुद्री मार्गको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ समेटिएको अलिमोभले बताएका छन्।

यद्यपि, त्यस प्रस्तावबारे अन्तिम निर्णय भने भइनसकेको जनाइएको छ। पछिल्ला दिनमा इरान र अमेरिकाबीच बढ्दो तनाव तथा आक्रमण–प्रत्याक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसले राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोजिनुपर्नेमा जोड दिएको छ। उप–परराष्ट्रमन्त्री अलिमोभले रूस सधैँ हिंसाको अन्त्य र वासिङ्टन तथा तेहरान बीच स्थायी सहमतिका लागि वार्ताको पक्षमा रहेको उल्लेख गरेका छन्।

Facebook Comments Box