पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ, २ मङ्सिर – प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी मेला आज लाग्दैछ । बिहानैदेखि पशुपतिनाथ क्षेत्र भक्तजनले पितृका नाममा बत्ती बाल्ने, दीपदान गर्ने र शतबीज छर्ने धार्मिक क्रियाकलापले भरिन्छ ।

त्रयोदशीको साँझदेखि भक्तजनले अखण्ड दीपदान गरी जाग्राम बस्ने परम्परा छ भने चतुर्दशीको बिहान दिवङ्गत पितृको सम्झनामा शतबीज छर्ने गरिन्छ । यस अवसरमा पशुपतिनाथ मात्रै होइन, देशभरका शिवमन्दिरमा भक्तजनको ठूलो भीड लाग्छ ।

बालाचतुर्दशी अघिल्लो रात मङ्गलबार लाखौँ भक्तजन पशुपति क्षेत्रमा भेला भएर दीपदान गरी रातभर भजन–कीर्तनमा बस्ने गर्छन् । बिहानैदेखि पितृका नाममा बत्ती बाल्न र बस्ने ठाउँ सुरक्षित गर्न भक्तजनको भीड लाग्ने भएकाले जाडोको मौसमलाई ध्यानमा राख्दै पाललगायत व्यवस्था मिलाइएका छन् ।

अन्तर्यात्रा स्मरण गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरलगायत स्थानमा शतबीज छर्ने धार्मिक चलन छ । त्रयोदशी रात भक्तजन पशुपतिनाथ वरिपरि बसेर महादीप बाली भजन–कीर्तन तथा लोकझाँकीसहित रात बिताउँछन् ।

हाल ‘शतबीज’को ठाउँमा सप्तबीज—धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो—छर्ने चलन प्रचलित छ । मृगस्थलीस्थित बहिरा गणेश नजिक पुगेर शिलालाई हल्का हल्लाउँदै दिवङ्गत पितृसम्म सन्देश पुगोस् भनेर ठूलो स्वरले कामना गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार हेमाद्रि धर्मग्रन्थमा धानका सय गेडालाई शतबीज भनिएको छ ।

“शिवले मृगरूप लिएर विहार गरेको पवित्र क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान बराबरको पुण्य प्राप्त हुने तथा दिवङ्गत आत्मा मुक्त हुने उल्लेख छ,” नेपाल बताउँछन् । बालाचतुर्दशीसँग जोडिएका धार्मिक किम्वदन्ती पनि छन् । एउटा कथाअनुसार, मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका व्यक्तिले अनायासै मुर्दाको गिदी मिसिएको च्युरा खाएपछि त्यसैमा लत बस्यो ।

उनको यो बानीले मानिस त्रसित भई उनलाई ‘बालासुर’ राक्षस भन्न थाले । पछि थकाली समुदायका एक बुढाको सल्लाहअनुसार वृषसिंहमार्फत बालासुरको वध गरियो भन्ने कथा प्रचलित छ । मितको हत्या भएको पापबाट मुक्ति पाउन वृषसिंहलाई शिवले सपनामा शतबीज छर्न आदेश दिएको विश्वास गरिन्छ ।

मार्ग कृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वन वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेको मानिँदा यही दिनलाई ‘बालाचतुर्दशी’ नामकरण गरिएको बताइन्छ । धर्मशास्त्रअनुसार माता–पिता दिवङ्गत भई एक वर्ष नपुगेकाले दीपदान वा शतबीज छर्न नहुने उल्लेख छ । धर्मसिन्धु ग्रन्थमा बरखी नसकिएका व्यक्तिले शिवको पूजा वा नामसमेत लिनु नहुने भनिएको छ । पशुपति क्षेत्र पुग्ने भक्तजनले यस अवसरमा वासुकी तथा गुह्येश्वरीको पूजा गर्नु उपयुक्त मानिन्छ ।

Facebook Comments Box