भाजपा सांसद शुभेन्दु अधिकारीका पीएको गोली हानी हत्या

काठमाडौं, २४ वैशाख – भारतको पश्चिम बंगाल स्थित परगना जिल्लाको मध्यमग्राम क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका रथलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। घटनामा उनका चालक बुद्धदेव बेरा पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीले योजनाबद्ध रूपमा हमला गरेको प्रहरीको अनुमान छ।

शुभेन्दु अधिकारी लामो समयसम्म ममता बनर्जी निकट सहयोगीका रूपमा रहे पनि हालै सम्पन्न विधानसभा निर्वाचन अघि भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए। उक्त निर्वाचनमा उनले ममतालाई पराजित गरेका थिए। हालै सम्पन्न पश्चिम बंगाल विधानसभा निर्वाचन मा भाजपाले २०६ सिट जित्दै पहिलोपटक राज्यमा दुई तिहाइ बहुमतसहित सरकार गठन गर्ने तयारी गरिरहेको छ। घटनापछि भाजपा कार्यकर्ता तथा नेताहरूले आक्रोश व्यक्त गरेका छन्। प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box