अतिक्रमित सरकारी जग्गाको विवरण तीन दिनभित्र बुझाउन खोटाङ प्रशासनको निर्देशन
खोटाङ, २३ वैशाख – जिल्ला प्रशासन कार्यालय खोटाङ ले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ। जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको अद्यावधिक विवरणसहित अतिक्रमण हटाउने योजनासमेत पेस गर्न आग्रह गरिएको हो।
प्रशासकीय अधिकृत प्रभात ढकालद्वारा हस्ताक्षरित पत्रमा ‘हार्ड’ र ‘सफ्ट’ दुवै प्रतिलिपि प्रशासनमा बुझाउन भनिएको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार गृह मन्त्रालय को वैशाख १६ गतेको निर्देशनअनुसार उक्त विवरण मागिएको हो। उनका अनुसार अतिक्रमित जग्गा राज्यको नाममा ल्याउने उद्देश्यसहित लगत सङ्कलनको काम भइरहेको छ।
“लगत सङ्कलन सम्पन्न भएपछि अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइनेछ,” उनले भनिन्, “त्यसअघि सम्बन्धितलाई स्वेच्छाले संरचना हटाउन आग्रह गरिनेछ।” जिल्लामा विशेषगरी हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी गाउँपालिका क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा बढी अतिक्रमण भएको जनाइएको छ। हलेसीस्थित त्रिधार्मिक स्थल र बराहताल आसपासका क्षेत्र बढी प्रभावित छन्।
गुठी संस्थान ले यसअघि हलेसी महादेव मन्दिरको जग्गा अतिक्रमणबारे छानबिन अघि बढाए पनि संरचना हटाउने कार्य प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। बराहपोखरी गाउँपालिकामा पनि सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना भत्काइएपछि पुनः निर्माण हुने क्रम दोहोरिएको स्थानीय तहले जनाएको छ। प्रशासनले अतिक्रमण नियन्त्रणका लागि सबै निकायसँग समन्वय गरेर अघि बढ्ने जनाएको छ।

