कतारमाथि नेपालको रोमाञ्चक जित, विश्वकप खेल्ने सम्भावना बलियो
काठमाडौँ, २८ असोज – ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा भएको खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै खेलेको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो।
कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन बनाए। नेपालका बलरमध्ये सन्दीप लामिछानेले ५ विकेट, नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ५८ रनको उत्कृष्ट पारी खेले भने दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्शन झाले १६ रन जोडे। कतारका बलरमध्ये कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट, र मुहम्मद असिमले १ विकेट लिएका थिए।
योसँगै नेपालले सुपर सिक्स चरणमा लगातार दोस्रो जित हासिल गरेको छ। पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराएको थियो। समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको नेपालले समूह चरणमा कुवेत र जापान दुवैलाई पराजित गरेको थियो।

