डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना
काठमाडौँ, १९ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले सुरक्षित, विश्वसनीय, समावेशी र दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तिमिल्सिनाले सूचना प्रविधि अब सुशासन, सेवा प्रवाह, आर्थिक विकास र नागरिक सशक्तीकरणका लागि अपरिहार्य आधार बनेको उल्लेख गरे।
उनले सूचना प्रविधि क्षेत्रमा संलग्न उद्यमी, प्राविधिक, स्टार्टअप, अनुसन्धानकर्ता र विद्यार्थीलाई शुभकामना व्यक्त गरेका छन्। मन्त्री तिमिल्सिनाका अनुसार सरकार डिजिटल नेपाल निर्माणको लक्ष्य कार्यान्वयन गर्दै सार्वजनिक सेवा प्रणालीलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको छ।
दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण, डिजिटल सार्वजनिक पूर्वाधार विस्तार तथा ‘नागरिक एप’लाई सुदृढ बनाउँदै एउटै प्लेटफर्मबाट सेवा उपलब्ध गराउने योजना अघि बढाइएको उनले बताए। नेपाललाई सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा कानुनी–संस्थागत सुधारलाई तीव्रता दिइएको मन्त्री तिमिल्सिनाको भनाइ छ।
त्यसैगरी, देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डेटा सेन्टर र डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्ने लक्ष्य रहेको उनले बताए।
सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन र आर्थिक विकासको नयाँ आधारका रूपमा स्थापित गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणमा निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार र नागरिकको सहकार्य आवश्यक रहेको बताएका छन्।

