आज देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना
काठमाडौँ, १९ वैशाख – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार विशेषगरी मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। केही उच्च भू–भागमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
त्यसैगरी कोशी प्रदेश, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ।
ती प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी–हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। महाशाखाले सम्भावित खराब मौसमका कारण हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

