केन्याविरुद्ध अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलामा नेपालको विजयी सुरुवात
काठमाडौं, ९ भदौ – टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले केन्याविरुद्ध विजयी सुरुवात गरेको छ। केन्याको ग्यामखाना रंगशालामा नेपालले ५ विकेटको जित दर्ता गरेको हो। केन्याले दिएकाे १३१ रनकाे लक्ष्य ४ बल बाँकी छँदै ५ विकेट गुमाएर नेपालले पुरा गर्याे।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३३ र आरिफ शेख २४ रनमा नटआउट रहे। ओपनर पवन सर्राफ १ रनमा क्याचआउट हुँदा आशिफ शेख १९ रनमा बोल्ड भए। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ३० बल खेल्दै २३ रन र रोहितले १४ बलमा १३ रनको योगदान दिए।
जितका लागि नेपाललाई १२ रन आवश्यक हुँदा दिपेन्द्र क्याचआउट भए। आदिल अन्सारी २ रनमा नटआउट रहे। केन्याका लुकास ओलुच र भिराज पट्टेलले समान २ विकेट लिए। नेहेमिया ओधिम्बोले एक विकेट लिए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि केन्याले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३० रन जोडेको थियो। इर्फान करिमले ३३, कोलिन्स ओवुयाले १२, नेलसन ओधिम्बुले १९ र सचिन भुदियाले १७ रन जोडे। लुकास ओलुचले १३ बलमा ३१ रन जोड्दै नटआउट रहे।
केन्यालाई सामान्य लक्षमा सिमित गर्न सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले समान ओभरमा ३३ रन खर्चिएर २ विकेट लिए। आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे। केन्या भ्रमणमा रहेको नेपालले ५ टि २० र ३ एक दिवशीय श्रृंखला खेल्ने छ।

