लालबन्दीको व्यापारिक कम्प्लेक्स पुनः प्रयोगविहीन

सर्लाही, ९ वैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिरअगाडि निर्माण गरिएको व्यापारिक कम्प्लेक्स पुनः प्रयोगविहीन बनेको छ। नगर विकास कोषको ऋण लगानीमा नगरपालिकाले निर्माण गरेको उक्त भवन २०८१ कात्तिकदेखि भाडामा दिइए पनि ठेक्का लिएका समूहले सञ्चालन गर्न नसक्दा फेरि खाली भएको हो।

‘आदित्य कन्स्ट्रक्सन’मार्फत पाँच जना युवाले भवन भाडामा लिए पनि कोठा भाडामा लगाउन नसकेपछि सम्झौता तोडिएको जनाइएको छ। गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा कम्प्लेक्समा तोडफोड भएपछि व्यवसाय सञ्चालनमा थप समस्या आएको ठेक्का लिएका युवाहरूको भनाइ छ। उनीहरूका अनुसार सुरुदेखि नै व्यापारका लागि उपयुक्त वातावरण नहुँदा र क्षति बढेपछि बाध्य भएर सम्झौता रद्द गर्नुपरेको हो।

सम्झौता रद्द भएसँगै नगरपालिकाले उठ्न बाँकी भाडा कटाएर कम्पनीलाई ३३ लाख रुपैयाँ धरौटी फिर्ता गरिसकेको छ। ठेक्का लिने समूहका मोहन भण्डारीले करिब ४६ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको बताएका छन्। नगरप्रमुख वासुदेव अधिकारी का अनुसार भवन मर्मतका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ।

“अब भवन मर्मत गरी पुनः ठेक्का आह्वान गर्नेछौँ,” उनले बताए। करिब १० करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त कम्प्लेक्समा अन्डरग्राउन्डसहित छ तला र ५३ कोठा रहेका छन्। वार्षिक करिब दुई करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिए पनि हालसम्म भवन प्रयोगमा आउन सकेको छैन।

Facebook Comments Box