गृहमन्त्री सुदन गुरुङको राजीनामा, निष्पक्ष छानबिनको माग

काठमाडौं, ९ वैशाख – गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन्।

गुरुङले आफू सम्बद्ध विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको स्वार्थ बाझिने अवस्था नआओस् भन्ने हेतुले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले उल्लेख गरेका छन्।

उनले सार्वजनिक जीवनमा स्वच्छता र उत्तरदायित्व आवश्यक हुने भन्दै आफ्नो निर्णय नैतिकताको आधारमा भएको स्पष्ट पारे। “सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ,” गुरुङले भनेका छन्।

आफ्नो लागि पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै उनले देशमा उठिरहेको सुशासन र पारदर्शिताको मागसँग आफ्नो कदम जोडिएको बताए।

पछिल्लो समय आफ्नो शेयर सम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। उनले आफूले चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक सम्हाल्दै आएको दाबी गरेका छन्।

गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको जनाउँदै सबैलाई सत्य र इमानदारीको बाटोमा उभिन आग्रह पनि गरेका छन्।

राजीनामासँगै उनले केही सञ्चारकर्मीमाथि समेत प्रश्न उठाएका छन्। “कति मिडियाकर्मीहरूको कहाँ कहाँ ‘स्वीट शेयर’ छ, विस्तारै बाहिर आउला,” उनले टिप्पणी गरेका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दिपक भट्ट सँग गुरुङको व्यापारिक साझेदारी रहेको खुलेपछि उनीमाथि दबाब बढेको थियो।

यस विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी भित्र र बाहिरबाट आलोचना भएको थियो भने विपक्षी दलहरूले पनि उनको राजीनामा माग गरेका थिए।

Facebook Comments Box