चितवन निकुञ्जमा असार १५ गतेदेखि जिप सफारी बन्द

चितवन, ९ असार – चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएकै कारण यही असार १५ गतेदेखि जिप सफारी अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
निकुञ्जभित्रको चिप्लो र हिलो सडक, खोला खोल्सा बढ्ने जोखिम, तथा झाडी र घाँसले वन्यजन्तु देख्न गाह्रो हुने भएकाले हरेक वर्ष झैँ यो व्यवस्था गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सडक मर्मतपश्चात असोज महिनाको तेस्रो साता, चाडपर्वसँगै सफारी पुनः खुल्ने अपेक्षा गरिएको छ ।

यद्यपि, मध्यवर्ती सामुदायिक वनमा भने सफारी यथावत् सञ्चालनमा रहनेछ । साथै, पैदलयात्रा, घडियाल प्रजनन केन्द्रको अवलोकनजस्ता अन्य गतिविधि पनि यथावत् रहने जानकारी गराइएको छ ।

Facebook Comments Box