बजार अनुगमनमा विभागको सक्रियता बढ्दो
काठमाडौँ, ८ वैशाख – बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले पछिल्ला दिनमा आफ्नो सक्रियता बढाएको छ। यसअघि सीमित फर्म तथा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले हाल एकैपटक ठुलो सङ्ख्यामा बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ। यसै क्रममा विभागले सोमबार दरबारमार्ग र कमलपोखरी क्षेत्रमा रहेका विभिन्न व्यावसायिक प्रतिष्ठान तथा फर्ममा अनुगमन गरेको थियो।
अनुगमनपछि सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। विभागका अनुसार उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा नियमित रूपमा अनुगमन सञ्चालन भइरहेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन तथा कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले स्पष्ट पारेको छ।

