मौसम अपडेट : पहाड–हिमालमा वर्षा, तराईमा गर्मी बढ्ने संकेत
काठमाडौं, ८ वैशाख – मौसम पूर्वानुमान महाशाखा ले देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ।
आज राति कोशी प्रदेश र गण्डकी प्रदेश का हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मङ्गलबार दिउँसो पनि हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ।
यसैबीच, मङ्गलबार र बुधबार मधेस प्रदेश सहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्र, उपत्यका र खोँचमा तातो दिन रहने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको समेत जोखिम देखिएको महाशाखाले जनाएको छ। देशभर तापक्रम बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

