पूर्वी नाका ७२ घण्टा बन्द
काठमाडौँ, ८ वैशाख – भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावका कारण नेपाल–भारत पूर्वी सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। दार्जिलिङ जिल्ला प्रशासनका अनुसार सोमबार साँझ ६ बजेदेखि वैशाख १० गतेसम्म काँकरभिट्टासँग जोडिएको पानीटङ्की नाकाबाट हुने सम्पूर्ण आवतजावत बन्द गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार उक्त अवधिमा सर्वसाधारण तथा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। तर, उपचारका लागि जाने बिरामी तथा अत्यावश्यक काममा संलग्न व्यक्तिलाई भने आवश्यक परिचयपत्रका आधारमा आवागमनमा सहजीकरण गरिनेछ।
यसैगरी, नेपाल र बङ्गलादेशका नागरिकलाई आफ्नो मुलुक फर्किन आवश्यक कागजात प्रस्तुत गरेमा आवतजावतमा सहजता प्रदान गरिने जनाइएको छ। भारतको पश्चिम बङ्गालमा वैशाख १० गते मतदान हुने कार्यक्रम रहेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुवै देशबीचको सहमतिमा चुनाव अवधिमा सीमा नाका बन्द गर्ने प्रचलन रहँदै आएको छ।

