सुन चोरी प्रकरणमा दुई पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं, ८ वैशाख – सुन चोरीमा संलग्न रहेको आरोपमा दुई जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु का सूचना अधिकारी रिपेन्द्र कुमार सिंह का अनुसार पक्राउ पर्नेमा २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेका छन्।
उनीहरूलाई वैशाख ५ गते पक्राउ गरिएको हो। पक्राउका क्रममा उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलरका साथै साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम, मलेसियन रिंगेट र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केही समयदेखि अपरिचित व्यक्तिहरूले स्थानीय तथा सुनचाँदी व्यवसायीलाई अल्मल्याई सुन चोरी गर्ने घटनाहरू बढेपछि अनुसन्धान थालिएको थियो। सोही क्रममा यसअघि चैत ३० गते २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबाना पनि पक्राउ परेका थिए।
उनीहरूबाट प्राप्त सूचनाका आधारमा थप अनुसन्धान गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दुई पुरुषलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले पक्राउ परेकालाई कपिलवस्तु ल्याई अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार यी व्यक्तिहरूमाथि इटहरी, विराटनगर, बुटवल र चितवन लगायतका स्थानमा पनि सुनका गरगहना चोरी गरेको आरोपमा जाहेरी परेको छ।

