फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत ५ दिन बन्द
गोरखा, ८ वैशाख – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत गर्न पाँच दिनका लागि रोक लगाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने का अनुसार वडा नं. ५ राना गाउँस्थित उक्त पदमार्गमा ढलान तथा रेलिङ निर्माण भइरहेको छ। त्यसैले वैशाख ८ देखि १२ गतेसम्म खच्चड आवतजावत बन्द गरिएको हो।
गाउँपालिकाले आवश्यक परे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। “पदमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै आवतजावत पुनः सहज बनाइनेछ,” उनले बताए। चुमनुब्री क्षेत्रमा अझै पनि दैनिक उपभोग्य वस्तु, खाद्यान्न र निर्माण सामग्री खच्चडमार्फत ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ। गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि तोकिएको अवधिसम्म आवतजावत बन्द गर्न आग्रह गरेको छ।
Facebook Comments Box

