प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ, १९ चैतः रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन ले नेपालको प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह लाई बधाई सन्देश पठाउनुभएको छ। रूसी प्रधानमन्त्री मिशुस्टिनले बुधबार पठाएको सन्देशमा रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन गर्दै शाहको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

सन्देशमा उहाँले शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्दै मित्रता, आपसी सम्मान र पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ हुने उल्लेख गर्नुभएको छ। त्यस्तै, सरकारी तहमा हुने सहकार्यले व्यापार, लगानी, आर्थिक, सांस्कृतिक तथा मानवीय सहयोगका क्षेत्रमा थप विस्तार हुने अपेक्षा गरिएको पनि सन्देशमा उल्लेख गरिएको छ।

यहाँस्थित रूसी राजदूतावासका अनुसार उक्त सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गरिएको छ। रूसी प्रधानमन्त्रीले सन्देशमार्फत प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा सफल कार्यकालको कामना समेत गर्नुभएको छ।

Facebook Comments Box