आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउँदै
काठमाडौँ, ६ फागुन – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। शेर्पा भाषामा ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने भएकाले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा छ।नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परा मान्ने समुदायले चन्द्रमासको गणनाअनुसार फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने गर्दछन्।
पर्वको अवसरमा गाउँघर, टोलका बाटोघाटो र पानीका मूलको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक तथा खाप्से जस्ता परिकार सेवन गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। स्याब्रु नृत्य, तुङ्गना (डम्याङ)को मधुर धुन र सामूहिक उत्सवका कार्यक्रमले पर्वलाई थप उल्लासमय बनाउने गरिन्छ।
पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा पनि यस पर्वलाई लिइन्छ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, विशेष परिकारको स्वाद लिँदै परिवार र समुदायबीच एकता, सद्भाव र सहकार्यको भावना सुदृढ गर्ने परम्परा ग्याल्पो ल्होसारको मुख्य विशेषता हो।

