देशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १९ चैतः जल तथा मौसम पूर्वानुमान महाशाखा ले देशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली कायम छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाइएको छ। आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। महाशाखाले हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अद्यावधिक मौसम जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

