राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
काठमाडौँ, ११ चैत – रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उक्त शपथ गराइएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो।
यसैगरी, कार्यक्रममा मन्त्रीहरू, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ। सोही तयारीअन्तर्गत आज ज्येष्ठ सदस्य केसीले शपथ लिनुभएको हो।
७८ वर्षीय केसीले भोलि बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनुहुनेछ। नयाँ सभामुखको निर्वाचन नभएसम्म उहाँले संसद् बैठकको अध्यक्षता गर्नुहुनेछ।

