कीर्तिपुरमा मृत कागमा बर्डफ्लु पुष्टि
काठमाडौँ, ११ चैत – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत अवस्थामा भेटिएका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। कीर्तिपुर नगरपालिका र पशु सेवा विभागको संयुक्त टोलीले परिसरबाट सङ्कलन गरिएका ६८ वटा मृत कागमध्ये अधिकांशलाई गाडेर व्यवस्थापन गरेको छ। केही काग अझै भेटिएकाले सङ्कलन कार्य जारी राखिने जनाइएको छ।
नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेका अनुसार एक साताअघि स्थानीयले वीरेन्द्र राज्याभिषेक उद्यानमा काग मरेको जानकारी गराएपछि परीक्षणका लागि नमूना पठाइएको थियो। प्रयोगशालाबाट नतिजा आएपछि बर्डफ्लु पुष्टि भएको हो।
वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार मृत कागमा एच५एन१ र एच९ प्रकारका बर्डफ्लु भाइरस भेटिएको छ। फिरन्ते चरामार्फत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ। उद्यानमा अन्य चरामा भने असामान्य मृत्यु नदेखिएको बताइएको छ। तर खुला रूपमा उड्ने पक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण चुनौतीपूर्ण हुने जनाइएको छ।
नगरपालिकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुखुराका दाना ओसारपसार नगर्न सूचना जारी गरेको छ। साथै कुखुरा तथा अन्य पक्षीपालक किसानलाई खोर सुरक्षित बनाउन, जङ्गली जनावर तथा चराचुरुङ्गी प्रवेश गर्न नदिने व्यवस्था गर्न र खुला रूपमा पालन नगर्न आग्रह गरिएको छ।
अधिकारीहरूले संक्रमण पुष्टि भए पनि अन्य कागलाई अनावश्यक रूपमा मार्न नहुने बताएका छन्। साथै मरेका जनावर अन्य जनावरलाई खुवाउन नहुने र स्रोत नखुलेको मासु उपभोग नगर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

