हिमपातले मुस्ताङका किसानलाई राहत

मुस्ताङ, ८ चैत – हिमाली जिल्ला मुस्ताङमा यस सिजनको छैटौँपटक परेको हिमपातले किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ। अनुकूल समयमा पटक–पटक हिउँ परेकाले खेती र पशुपालन दुवै क्षेत्रमा सकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन्।

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायत विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ र थासाङ गाउँपालिकाका उच्च लेकमा हिमपात हुँदा बस्ती क्षेत्रमा वर्षा भएको जनाइएको छ। हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका उच्च चरन क्षेत्र सेताम्मे हिउँले ढाकिएका छन्।

घरपझोङ–५ ठिनीका पशुपालक च्याङबहादुर थकालीका अनुसार ठिनीमाथिका भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गअन्तर्गत मेसोकोन्दो पास क्षेत्रमा पूर्ण रूपमा हिउँ जमेको छ। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण समयमै हिमपात नहुँदा चरन क्षेत्रमा घाँस अभाव हुने समस्या देखिँदै आएको थियो। यस वर्ष भने अनुकूल हिमपातले चरन क्षेत्रमा पर्याप्त घाँस पलाउने अपेक्षा गरिएको छ, जसले पशुपालकलाई राहत मिल्ने विश्वास गरिएको छ।

हुरीबतासबिना परेको हिमपातले जमिनमा चिस्यान कायम रहने भएकाले खेतीयोग्य जमिनमा पानीको मात्रा वृद्धि हुने र अन्नबाली उत्पादनमा सहयोग पुग्ने किसानको भनाइ छ। उवा, जौँ, गहुँ तथा तरकारी खेतीसँगै स्याउखेतीका लागि समेत यसपटकको हिमपात लाभदायक हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, अनुकूल हिमपातले रोग–कीराको संक्रमण घटाउने र प्राकृतिक ‘अर्गानिक विषादी’को काम गर्ने भएकाले किसान उत्साहित भएका छन्। हिमपातले पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने देखिएको छ। हिउँ खेल्न र हिमपातको दृश्य अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको स्थानीयले बताएका छन्

Facebook Comments Box