राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ, ८ चैत  – रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरोकारवालालाई सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ। विश्व पानी दिवस २०२६का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले खानेपानी व्यवस्थापनका सबै तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

राष्ट्रपति पौडेलले पानीलाई जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधारका रूपमा व्याख्या गर्दै मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनका हरेक पक्षलाई दिशा दिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार प्राचीन सभ्यताहरू नदी किनारमा विकास भए पनि अहिले प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

भूमिगत जलस्रोतलाई महत्वपूर्ण प्राकृतिक सम्पदा उल्लेख गर्दै उहाँले यसले पारिस्थितिकीय सन्तुलन कायम गर्न, नदीको बहाव व्यवस्थापन गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न तथा सुरक्षित पिउने पानी उपलब्ध गराउन सहयोग गर्ने बताउनुभयो।

उहाँले बढ्दो सहरीकरण, भौतिक पूर्वाधार विस्तार, प्रदूषण तथा जलस्रोतको अतिदोहनका कारण पानीका स्रोत सुक्दै गएको उल्लेख गर्दै भूमिगत पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। भविष्यमा देखिन सक्ने जलसङ्कटलाई ध्यानमा राख्दै जलाधार क्षेत्र संरक्षण, भूमिगत जल पुनर्भरण तथा आहाल, पोखरी र तालतलैयाजस्ता परम्परागत विधिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखमा विश्वभर पानी दिवस मनाइँदै आएको छ। नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ।

Facebook Comments Box