विदेशबाट फर्किएर बाख्रापालनमा सफलता

म्याग्दी, १७ साउन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामी वैदेशिक रोजगारबाट फर्किएपछि सुरु गरेको बाख्रापालन व्यवसायबाट आत्मनिर्भर बन्न सफल भएका छन्। मलेसियामा तीन वर्ष काम गरे पनि कम्पनीले पारिश्रमिक नदिएपछि गाउँ फर्किएका फगामीले एक थान बाख्राबाट व्यवसाय सुरु गरेका थिए।

बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि उनले राम्चे बाबा समूहको ५३ वटा बाख्रा खरिद गरेर व्यवसायलाई फराकिलो बनाएका हुन्। अहिले सुतारे एकीकृत कृषि तथा पशुपन्छी फर्ममा १५० भन्दा बढी बाख्रा छन्, जसमध्ये ४० माउ बाख्रा व्याउने अवस्थामा छन्।

फगामीका अनुसार मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। चाडपर्व र पूजाआजाको समयमा खसीबोका तथा पाठापाठीको माग हुने गरेको छ। फगामी दम्पती, छोरा-बुहारीसहित परिवारका सदस्य बाख्राको रेखदेखमा संलग्न छन् भने चरनका लागि एक जनालाई रोजगारसमेत दिइएको छ।

उनले बाख्रासँगै अब भेडापालन सुरु गर्ने योजना बनाएका छन्। यसै वर्ष अन्नपूर्ण गाउँपालिकाबाट रु १ लाख ६६ हजार अनुदान पाएका फगामी परिवारले करिब साढे तीन लाखको लगानीमा ३०० बाख्रा अट्ने खोर निर्माण गरेका छन्।

उचित स्याहार र रोगको समयमै उपचार नगर्दा केही क्षति भए पनि निरन्तर प्रयास र धैर्यताले सफलता दिलाएको फगामी परिवारको भनाइ छ। उत्पादनको उचित बजार सुनिश्चित भए बाख्रापालनलाई अझ व्यवसायिक बनाउने उनीहरूको योजना छ।

Facebook Comments Box