वर्षासँगै काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौँ, ६ चैत – हुरीबताससहितको वर्षा जारी रहँदा काठमाडौँका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ। वर्षाका कारण सवारी आवागमन प्रभावित हुँदा ट्राफिक व्यवस्थापनमा थप चुनौती देखिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायतका स्थानको निरीक्षणका क्रममा वर्षाका कारण सवारी चाप र जाम बढेको पाइएको छ।

सडकमा पानी जम्दा सवारी सञ्चालनमा अवरोध पुग्ने, ट्राफिक ‘फ्लो’ प्रभावित हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सबैलाई हतार नगरी धैर्यताका साथ यात्रा गर्न अनुरोध गरिएको छ।

“सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ,” सुवेदीले भने, “ट्राफिक नियम पालना गर्दै सुरक्षित यात्रा गर्नु आवश्यक छ। हतारले दुर्घटना निम्त्याउन सक्छ।”

हुरीबतासका कारण सडक किनारका रुख ढल्ने, बिजुली तथा टेलिफोनका तार चुँडिने, पोल लड्ने र घरका छाना उड्ने जोखिम पनि रहेकाले सकेसम्म अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक परेमा सावधानी अपनाउन आग्रह गरिएको छ।

ट्राफिक प्रहरीले वर्षाका समयमा दुर्घटना बढ्नुका कारणमा चालकको हतारो, लेन मिच्ने प्रवृत्ति, ट्राफिक बत्ती तथा सङ्केत उल्लङ्घनलाई प्रमुख मानेको छ। साथै, सडकका खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटनाको सम्भावना झन् बढ्ने जनाएको छ। माइतीघर, पुतलीसडक र तीनकुनेलगायत क्षेत्रमा वर्षाका कारण सडकमा पानी जमेको देखिएको छ।

Facebook Comments Box