पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालन

चितवन, २० साउन – पहिरोका कारण केही समय अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ । आज बिहान करिब ७ः०५ बजे सडकमाथिबाट खसेको पहिरोका कारण उक्त सडकखण्ड केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरूले सास्ती बेहोर्नुपरेको थियो भने सडकको दुवैतर्फ लामो सवारी जामसमेत लागेको थियो ।

पहिरो खसेलगत्तै डिभिजन सडक कार्यालय, सुरक्षा निकाय र निर्माण कम्पनीका प्राविधिक टोली घटनास्थलमा पुगेका थिए । डोजर तथा अन्य हेभी उपकरणको प्रयोग गरी पहिरो हटाउने काम तीव्र रूपमा सञ्चालन गरिएको थियो ।डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पूर्ण रूपमा पन्छाइएपछि अहिले नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ । अहिले सबै प्रकारका सवारीसाधन दुवै दिशाबाट निर्वाध रूपमा आवतजावत गरिरहेका छन् ।

मनसुन सक्रिय रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा बेला–बेलामा पहिरो खस्ने जोखिम कायम रहेको छ । त्यसैले सडक पुनः अवरोध हुन सक्ने भएकाले चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा यात्रुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

Facebook Comments Box