हुरीबताससहित वर्षा: मकवानपुरमा सबैभन्दा बढी, प्रणाली उत्तरपूर्वतर्फ सर्दै
काठमाडौँ, ६ चैत – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहित वर्षा भइरहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम प्रभावित भएको हो।
विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार विभिन्न स्थानमा वर्षा भइरहँदा मकवानपुरको गढी क्षेत्रमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। त्यहाँ ४४ दशमलव २२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
त्यसैगरी, काठमाडौँको बबरमहल क्षेत्रमा ७ दशमलव ८ मिलिमिटर र कीर्तिपुरमा १६ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ। हालको वर्षा प्रणाली पश्चिमबाट क्रमशः उत्तरपूर्वतर्फ सर्दै गएको दाहालले जानकारी दिएका छन्। आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
विभागका अनुसार प्रतिकूल मौसमका कारण यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन्। अत्यावश्यक बाहेकका यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
आज राति र भोलिसम्म मधेस प्रदेशसहित कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ।
कमजोर रुख ढल्ने, संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने तथा हवाई र सडक यातायात प्रभावित हुने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

