पृथ्वी राजमार्गमा यात्रुबाहक बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं, १२ चैत – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा यात्रुबाहक बस पल्टिँदा ३८ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँतर्फ आइरहेको बा५ख ७९४२ नम्बरको बस बिहान करिब ९ः २० बजेतिर अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका हुन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भईरहेको छ ।

उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ ।

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box