बाग्मती शुद्धीकरणका लागि ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ गरिने
काठमाडौं, ३० फागुन – विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदी लाई शुद्ध बनाउने उद्देश्यसहित ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ आयोजना गरिने भएको छ।
आज आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा पशुपतिनाथ मन्दिर र पाशुपतक्षेत्रको धार्मिक महत्व तथा बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको जानकारी दिइयो।
महेश संस्कृत गुरुकुलम् का अध्यक्ष तथा महेश सन्न्यास आश्रम का पीठाधीश स्वामी रमणानन्द गिरि का अनुसार बाग्मती नदी प्रदूषित भएकोप्रति भगवान् पशुपतिनाथसमक्ष क्षमायाचना र प्रायश्चित गर्ने भावनासहित पदयात्रा आयोजना गर्न लागिएको हो।
कार्यक्रमअनुसार आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठ मा बृहत् पाशुपति यात्राको समुद्घाटन गरिनेछ। सोही दिन पशुपति पूजन तथा बाग्मतीको विशेष आरती गरिने कार्यक्रम रहेको छ। चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिङ्ग कुशेश्वर महादेव तर्फ पदयात्रा सुरु गरिने बताइएको छ।
कुशेश्वरबाट दोलखा भीमसेन मन्दिर दर्शन गरी फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र जनकपुर लगायत क्षेत्रमा रहेका सिद्धलिङ्गहरूको दर्शनका लागि पदयात्रा गरिने योजना रहेको छ।
स्वामी गिरिका अनुसार बाग्मती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिङ्गहरूको तीर्थयात्रा कम्तीमा ३५ देखि ४० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पदयात्राका संयोजक कपिलदेव सुवेदी ले ६४ शिवलिङ्गको यस प्रकारको यात्रा प्रताप मल्ल पछि पहिलोपटक गर्न लागिएको जानकारी दिनुभयो।
पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदी का अनुसार ६४ शिवलिङ्गमध्ये २४ वटा काठमाडौंमै रहेका छन् र पदयात्राका क्रममा काठमाडौं वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा गरिनेछ।

