‘तक्षशिला महोत्सव ३.०’ भव्य रूपमा सम्पन्न, नवप्रवर्तन र विश्वस्तरीय शिक्षामा जोड
काठमाडौँ, ३० फागुन – तक्षशिला प्रोग्रेसिभ इंग्लिस स्कूल ले नवप्रवर्तन, विश्वस्तरीय शैक्षिक पहल तथा उल्लेखनीय उपलब्धिहरूलाई उत्सवका रूपमा मनाउँदै ‘तक्षशिला महोत्सव ३.०’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले ८०० भन्दा बढी विद्यार्थी संख्या पार गरेको ऐतिहासिक अवसरमा महोत्सव आयोजना गरिएको जनाएको छ।
विद्यालयका अनुसार यस उपलब्धिले संस्थालाई समग्र तथा भविष्यकेन्द्रित शिक्षामा अग्रणी संस्थाका रूपमा पुनः स्थापित गरेको छ। शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा समग्र शिक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दै विभिन्न मनोरञ्जनात्मक खेल, उपहार तथा आकर्षक गतिविधिसहित कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गा प्रसाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. का मेडिकल डाइरेक्टर प्रा. डा. बलभद्र प्रसाद दास विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा अन्य विशिष्ट अतिथि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महोत्सवअन्तर्गत विद्यालयले शैक्षिक यात्रासँग सम्बन्धित तीन महत्वपूर्ण उपलब्धिको उद्घाटन गरेको जनाएको छ। यसमा इन्टरनेशनल ब्याकलोरियट(IB) अन्तर्गत IB PYP क्यान्डिडेसीको सुरुआत गरिएको छ, जसको नेतृत्व IB PYP कोअर्डिनेटर डेनिस बी. रोजारियो ले गर्नुभएको छ।
त्यसैगरी द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड कार्यक्रमको सुरुआत पनि गरिएको छ, जसले युवामा नेतृत्व क्षमता, धैर्यता तथा जीवनोपयोगी सीप विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ। यो कार्यक्रम माइकल सामाताराय को मार्गदर्शनमा सञ्चालन हुनेछ।
कार्यक्रममाइन्टरनेशनल एजुकेशन ओलम्पियाड (IEO) का क्षेत्रीय तथा कक्षा स्तरका उत्कृष्ट विद्यार्थीहरूलाई विशिष्ट अतिथिहरूद्वारा सम्मान गरिएको थियो।
महोत्सवको प्रमुख आकर्षणका रूपमा रोबोटमार्फत अतिथिहरूलाई खादा अर्पण, ड्रोनमार्फत पुष्पवृष्टि तथा रोबोटद्वारा जुस सेवा प्रदान गरिएको थियो।
विद्यालयका अनुसार यी गतिविधि विद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स (AI) टोली र विद्यार्थीहरूको सहकार्यमा सम्पन्न भएका थिए, जसले प्रविधि, सिर्जनशीलता र नवप्रवर्तनको उत्कृष्ट समन्वय प्रस्तुत गरेको जनाएको छ।

