भोजपुरको खोक्सिकमा केन्द्रीय विद्युत् सेवा विस्तार, उज्यालो वडाको तयारी
भोजपुर, १७ साउन – भोजपुरको दक्षिणी भेगमा पर्ने रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा केन्द्रीय विद्युत् विस्तारसँगै ९५ प्रतिशत घरधुरी उज्यालोमा पुगेका छन्। भौगोलिक रूपमा विकट मानिने यस क्षेत्रमा वडा कार्यालयको पहलमा घरघरमा विद्युत् सेवा पुगेको हो।
वडाध्यक्ष बाचकुमार राईका अनुसार, सुरुमा विद्युत् सेवाको पहुँच नहुँदा पनि निरन्तर प्रयासबाट हालसम्म ९५ प्रतिशत घरमा केन्द्रीय विद्युत् जडान गरिएको छ। बाँकी घरहरूमा पनि चाँडै सेवा विस्तार गरिने र यो आर्थिक वर्षभित्र खोक्सिकलाई ‘उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
“शून्य अवस्थाबाट काम सुरु गरेर आज ९५ प्रतिशत नागरिकको घरमा बिजुली पुर्याएका छौं,” वडाध्यक्ष राईले भन्नुभयो, “अब बाँकी घरमा पनि छिट्टै जडान गरेर उज्यालो वडा घोषणा गर्ने योजना छ।” विद्युत् सेवा विस्तारसँगै स्थानीयवासीहरूमा खुसीयाली देखिएको छ। वर्षौँदेखि टुकी र सोलारमा भर परेका उनीहरू अहिले स्थायी उज्यालोको अनुभव गर्दै छन्।
स्थानीय दिलकुमार योगीका अनुसार, “टुकीको भरमा रात कटाउने दिन सकिएको छ। अब उज्यालोमा खाना पकाउने, पढ्ने, काम गर्ने सहज भएको छ। गाउँमा बत्ती बल्दा साँच्चिकै आनन्द लाग्छ।” त्यसैगरी, स्थानीय दलबहादुर राईले विद्युत् विस्तारसँगै सूचना प्रविधिको पहुँच पनि गाउँसम्म आएको बताउनुभयो। “अब नेट, इन्टरनेट, टिभी हेरेर देश–विदेशको खबर गाउँमै बस्दा थाहा पाउने अवस्था बनेको छ,” उहाँले भन्नुभयो।
उनका अनुसार, विद्युत् सेवा पाएपछि विद्यार्थीहरूको पढाइमा सहजता आएको, दैनिक जीवनशैलीमा सुधार भएको र ग्रामीण जीवनमै परिवर्तन आएको छ। कुल मिलाएर, खोक्सिक जस्ता दुर्गम क्षेत्रमा केन्द्रीय विद्युत् विस्तारले ग्रामीण विकासको आधार तयार गरेको स्थानीयवासीहरूको धारणा छ।

