दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
म्याग्दी, २८ फागुन – म्याग्दीको रत्नेचौर र बागलुङको कुडुले गाउँलाई जोड्ने झोलुङ्गे पुलले स्थानीय बासिन्दाको आवतजावत सहज बनाउनुका साथै पर्यटकीय आकर्षणसमेत बढाएको छ । ढोडेनी खोलामाथि निर्माण गरिएको ३८८ मिटर लामो झोलुङ्गे पुलले बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले गाउँलाई जोडेको छ । करिब १७० मिटर उचाइमा रहेको यो पुल स्थानीय बासिन्दाका लागि सुविधा र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
रत्नेचौरकी सुशीला भण्डारीका अनुसार पुलमा रमाउँदै प्राकृतिक दृश्य अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पञ्चकोट र कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटक पनि पुलमा पुगेर दृश्यावलोकन गर्ने गरेका छन् ।
तीन वर्षअघि विसं २०७९ मा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले करिब तीन करोड ५० लाख रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो । पुल निर्माणपछि दुई जिल्लाबीचको दूरी निकै छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । “पहिले कुडुले पुग्न एक–डेढ घण्टा लाग्थ्यो, अहिले पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिन्छ,” उहाँले भन्नुभयो ।
पुलले स्थानीय कृषकले उत्पादन गरेका तरकारी, दूधलगायत कृषि उपजको बजारीकरणमा समेत सहजता ल्याएको छ । श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण गरिएको पुलका कारण अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे र भान्सा लगायतका गाउँका बासिन्दालाई आवतजावत तथा आर्थिक गतिविधिमा पनि सहज भएको स्थानीय मेखबहादुर बोगटीले बताउनुभयो ।
पुलले रत्नेचौरको खेलमैदान र धवलागिरि क्षेत्रकै ठूलो मानवनिर्मित मानिने बुढोपोखरीको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । हाल म्याग्दीमा ३०० मिटरभन्दा लामा तीनवटा झोलुङ्गे पुल निर्माण भएका छन् । यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने ३६५.८० मिटर लामो तथा मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।

