वीरगञ्‍ज महानगरपालिका-१४ का वडाध्‍यक्ष सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २ चैत्र – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका-१४ का वडाध्‍यक्ष भरतप्रसाद कुर्मी र वडासचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस वापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोपमा कुर्मीसहित महानगरका वडासचिव राज कुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध १ लाख २ हजार ५८५ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको बताए ।

Facebook Comments Box