विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ चयन

काठमाडौं, १ साउन – प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन भएका छन्। ताञ्जानियाको आरुसामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ सर्वसम्मतिमा आगामी तीन वर्षका लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।

श्रेष्ठ यसअघि विश्व प्रेस काउन्सिलका महासचिव समेत भइसकेका छन्। नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठका अनुसार निर्वाचन प्रक्रियामा आवश्यक सम्पूर्ण चरण पूरा गरिएको थियो। श्रेष्ठको उम्मेदवारी भारतका सुधीरकुमार पण्डाले प्रस्ताव गरेका थिए भने समर्थन जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र ताञ्जानियाका काजुबी मुकाजाङ्गाले गरेका थिए। यस सम्मेलनबाट विश्व प्रेस काउन्सिलको नेतृत्व निम्नानुसार चयन गरिएको छ:

  • अध्यक्ष: डेभिड ओम्ओयो (केन्या)

  • उपाध्यक्ष: किशोर श्रेष्ठ (नेपाल), अली हान्सेर्ली (साइप्रस)

  • महासचिव: अर्नेस्ट साम्सोन सुङ्गुरा (ताञ्जानिया)

  • कोषाध्यक्ष: तामेर अताबारुत (टर्की)

  • अन्तर्राष्ट्रिय सम्पर्क संयोजक: सिके नायक (भारत) र जियादा किलोबो (ताञ्जानिया)

ताञ्जानियाको आरुसामा सोमबारदेखि सुरु भएको सम्मेलन शुक्रबार समापन हुने कार्यक्रम छ। सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ।

Facebook Comments Box