भारतका पाँच राज्यको चुनाव परिणाम सार्वजनिक, तीन राज्यमा सरकार परिवर्तन
काठमाडौं, २२ वैशाख – भारतका पाँच राज्यमा सम्पन्न विधानसभा चुनावको नतिजा सोमबार सार्वजनिक भएको छ। परिणामअनुसार पश्चिम बंगाल, तमिलनाडु र केरलामा सरकार परिवर्तन भएको छ भने आसाम र पुडुचेरीमा एनडीए पुनः सत्तामा फर्किएको छ। पश्चिम बंगालमा भारतीय जनता पार्टीले पहिलोपटक तृणमूल कांग्रेसलाई पराजित गर्दै सत्ता हात पारेको छ। यसअघि सीमित उपस्थितिमा रहेको भाजपा यसपटक उल्लेखनीय रूपमा बढ्दै २०६ सिटमा पुगेको छ।
तमिलनाडुमा भने थलापति विजयको पार्टी टीभीकेले सबैभन्दा धेरै सिट जित्दै अप्रत्याशित सफलता हासिल गरेको छ। करिब ५९ वर्षपछि राज्यमा डीएमके वा एआईएडीएमकेबाहेकको सरकार बन्ने अवस्था सिर्जना भएको छ। यसैबीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन दुवैले आफ्नो निर्वाचन क्षेत्रमा पराजय व्यहोरेका छन्।

