नेप्से २१ सय माथि उक्लियो

काठमाडौँ, १० असार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अर्ब ४९ करोडको कारोबार भएको छ। सो कारोबार पछिल्लो ६ महिनामा सबैभन्दा धेरै हो। गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो। त्यसयता आज नेप्सेमा उच्च ६ अर्ब ४९ को कारोबार भएको छ।

आज कारोबारसँगै नेप्से समेत उच्च अंकले बढेको छ। आज नेप्से ६२.२१ अंकले बढेर २११७.७३ बिन्दु पुगेको छ। गत पुसमा ७ अर्बको कारोबार हुँदा नेप्से करिब २२ बिन्दुमा थियो।

आज २०५७.३७ बिन्दुमा खुलेको बजार दिनभरी उकालो लाग्दै उच्च २०१८ बिन्दु पुगेको थियो। दिनभरी बजार निरन्तर बढ्दा अन्तिम समयमा केही लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजार केही बिन्दु तल आएर पुनः समालिएको थियो।

नेप्सेसँगै कारोबार रकम उलेख्य रुपमा बढ्दा बजारको लागि राम्रो मानिन्छ। कारोबार बढ्दै जानुले बजारमा क्रेतासँगै बिक्रेता पनि उत्तिकै रहेको देखिन्छ। आज कारोबारमा आएका २७५ कम्पनीहरुमध्ये १८९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ। साथै ४ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

आज नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ। लाइफइन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ इन्स्योरेन्स, समलिङ पावर कम्पनी र एनएमबी ५० को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। सुभव पावर कम्पनीको सेयरमूल्य भने सर्वाधिक ६.८१ प्रतिशतले घटेको छ।

आज शिवम सिमेन्टको सर्वाधिक ४९ करोडको कारोबार भएको छ। त्यसैगरी सोल्टी होटलको ३८ करोड र हिमालयन डिस्टिलरीको २४ करोडको कारोबार भएको छ। आज सिटि होटल, शिवम सिमेन्ट र निफ्राको सेयर खरिद माग उच्च देखिएको थियो।

Facebook Comments Box