सर्लाहीका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

सर्लाही, २२ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता बनाएका छन्। प्रारम्भिक मतगणनाअनुसार क्षेत्र नं–१ र २ मा रास्वपाका उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् भने क्षेत्र नं–३ र ४ मा पनि रास्वपाकै उम्मेदवार अघि देखिएका छन्।

पछिल्लो मतपरिणामअनुसार सर्लाही क्षेत्र नं–१ मा रास्वपाकी निमिता भण्डारीले एक हजार ६६९ मत प्राप्त गरेकी छन्। नेकपा (एमाले)का मनोज देवकोटाले ३८५ मत पाएका छन्।

नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २४० मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले १५३ मत ल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टीका प्रमोद साहले ११७ मत प्राप्त गरेका छन्।

त्यसैगरी क्षेत्र नं–२ मा रास्वपाका रविन महतोले दुई हजार ७५ मतसहित फराकिलो अग्रता बनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीका महेन्द्र राय यादवले ८३१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा अघिल्लो निर्वाचनमा यादव विजयी भएका थिए।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र महतोले ३४५ मत पाएका छन् भने नेपाली कांग्रेसका डा. सरोजकुमारले १९५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का नागेश्वर साहले ५८ मत ल्याएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Facebook Comments Box