आज राति दुई खेलहरु इंग्ल्यान्ड-जर्मनी र स्विडेन-युक्रेन बीच खेल हुँदै
काठमाडौँ, १५ असार – युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज राति दुई खेलहरु हुँदैछन् । युरोकपमा आज राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ । पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् । इग्न्ल्यांडले समूह ’डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको थियो । जर्मनीले समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार खेलमा स्विडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी खेलेको छ ।

