आज साँझ खण्डग्रास चन्द्रग्रहण, नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिने
काठमाडौँ, १९ फागुन – आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। खगोलविद्का अनुसार साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनेछ। वाल्मीकि क्याम्पस का वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य ले यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट अवलोकन गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ घटना भएकाले यसपटकको ग्रहण विशेष रहनेछ।
काठमाडौँमा चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको छायाले ढाकिएको अवस्थामा देखिने बताइएको छ। यो खगोलीय दृश्य काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिने आचार्यले बताउनुभयो।
खगोलविद्का अनुसार चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता पर्दैन। सूर्यग्रहणको विपरीत चन्द्रग्रहणले आँखामा असर नगर्ने भएकाले खुला आँखाले नै सुरक्षित रूपमा हेर्न सकिन्छ।यसअघि गत भदौ २२ गते राति खग्रास (पूर्ण) चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट करिब साढे तीन घण्टासम्म देखिएको थियो। खगोलविद्का अनुसार अब सूर्यग्रहण भने नेपालबाट विसं २०८४ मा मात्र देखिनेछ।
औँसीका दिन सूर्यग्रहण र पूर्णिमाका दिन चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा पर्दा ग्रहणको अवस्था सिर्जना हुन्छ। पृथ्वीको छायाँमा चन्द्रमा पर्दा चन्द्रग्रहण देखिन्छ भने चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।
चन्द्रग्रहण लाग्दा पृथ्वीका धेरै स्थानबाट एकैपटक चन्द्रमा अवलोकन गर्न सकिन्छ। तर सूर्यग्रहण भने पृथ्वीको सीमित भूभागबाट मात्र देखिन्छ। वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया सुरक्षित हुने भएकाले खुला आँखाले हेर्दा कुनै हानि हुँदैन, तर सूर्यग्रहण हेर्दा भने विशेष सावधानी अपनाउन आवश्यक हुन्छ।

