निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदामा आवश्यक वित्तीय व्यवस्था मिलाइएको आयोगको भनाइ
काठमाडौँ, २० फागुन – निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाका सम्बन्धित शाखा नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
फागुपूर्णिमा तथा अन्य बिदाका कारण वित्तीय पक्षका आवश्यक कार्य र सेवामा असर नपरोस् भन्ने उद्देश्यले आयोगको निर्णय तथा अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको उल्लेख गरिएको छ। त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय बाट निर्वाचनसम्बन्धी भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गरिएको छ।
उक्त कार्यका लागि आवश्यक प्राविधिक जनशक्ति खटाई प्रणालीको निर्वाध सञ्चालन सुनिश्चित गरिएको आयोगले स्पष्ट पारेको छ। यस्तै, नेपाल राष्ट्र बैंक ले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारसम्बन्धी बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थामार्फत रकम दाखिला र भुक्तानीलगायत सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाइएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मतदानको दिन मुलुकभर एकैपटक मतदान हुने भएकाले सो दिन वित्तीय तथा बैंकिङ सेवा सञ्चालन नहुनेछ। ती सेवा फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने उनले जानकारी दिनुभयो।

