सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने

काठमाडौँ, १३ चैत – कोभिड-१९ कोरोना भाइरस सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने निणर्य भएको हो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निणर्य भएको बताउनुभयो ।
सार्वजनिक यातायात क्षेत्रमा आजदेखि लागू हुने गरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निणर्य भएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्वसावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो ।

सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।
कोभिड संक्रमणको दोस्रो लहर आउन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

आजको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाइ यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निणर्य भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बताएको छ ।

Facebook Comments Box