तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

नवलपरासी, १९ फागुन – रङहरूको पर्व होली आज तराईका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्पराअनुसार आज यहाँका जिल्लामा उत्सव मनाउन लागिएको हो।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलालीकञ्चनपुर लगायतका जिल्लामा होली मनाइँदैछ।

मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यो पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ। परस्परमा रङ लगाउँदै सबै प्रकारका भेदभावलाई भष्म गर्ने सन्देशसहित होलीलाई उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ।

पण्डित त्रिलोचन भुर्तेल का अनुसार होली समानता र सद्भावको प्रेरणा दिने पर्व हो। “असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ,” उहाँले भन्नुभयो, “धार्मिक महत्वसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न यस पर्वको विशेष भूमिका रहेको छ।”

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका र ढुण्ढा आदिसँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामबाट मनाइँदै आएको बताइएको छ। नाचगान, रसरङ्ग, खानपिन र आपसी मेलमिलापमार्फत भ्रातृत्व भावना अभिवृद्धि गर्ने यस पर्वको आफ्नै सांस्कृतिक गरिमा रहेको छ।

पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइए पनि तराई क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ। होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्का ले अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने तथा अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गरिने बताउनुभयो। उहाँले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नलगाउन, हानिकारक केमिकल रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा कुनै आपराधिक गतिविधि थाहा पाएमा प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गर्नुभयो।

Facebook Comments Box