निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ, १९ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई थप निर्देशन दिएको छ। आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन जारी गरेको हो।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। आचारसंहिता कार्यान्वयनका लागि सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदानको दिनभन्दा अघिल्लो ४८ घण्टादेखि लागू हुने विशेष आचरण कडाइका साथ पालना गराउन स्मरण गराएको छ। मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म तोकिएको आचरणको सूक्ष्म अनुगमन गर्न सम्बन्धित जिल्लाभित्र सक्रियता बढाउन निर्देशन दिइएको छ।
त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका गतिविधि पाइएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आयोगले आग्रह गरेको छ। प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन तथा आचारसंहिताले निषेध गरेका गतिविधि नगर्न र गराउन आयोगले सबै पक्षलाई अनुरोध गरेको छ।

