मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन, सोमबार बेलुकासम्म पुग्ने आयोगको निर्देशन
काठमाडौँ, १८ फागुन – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोगले सोमबार बेलुकासम्म सबै मतदान केन्द्रमा टोली पुगिसक्न परिपत्र गरेको छ। दुर्गम तथा विकट क्षेत्रका मतदान केन्द्रमा केही दिनअघिदेखि नै सुरक्षाकर्मी सहितका टोली पुगिसकेका छन्।
यातायात सुविधा पुगेका स्थानमा सोमबार अपराह्नसम्म केन्द्रमा पुगेर आवश्यक तयारी पूरा गर्न निर्देशन दिइएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला तोकी सूचना टाँस्ने कार्य सम्पन्न गर्नुपर्नेछ। मतदान केन्द्रको परिधि स्पष्ट देखिने गरी सूचना सार्वजनिक गरिनेछ। साथै, निर्वाचन सामग्री सम्बन्धित केन्द्रमा पु¥याएर प्रारम्भिक तयारीका काम पनि सोही दिन सम्पन्न गरिने बताइएको छ।
देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ। निर्वाचन सम्पन्न नहुन्जेल सुरक्षाकर्मी र कर्मचारीको टोली सँगै रहनेछ। विकटका दुई सयभन्दा बढी केन्द्रमा आइतबारसम्म कर्मचारी पुगिसकेको रिपोर्ट आएको आयोगले जनाएको छ।
सुदूरपश्चिम र कर्णालीका सडक सुविधा नपुगेका तथा सदरमुकामबाट टाढा रहेका करिब तीन सय केन्द्रमा प्राथमिकताका साथ टोली परिचालन गरिएको थियो। शहरी क्षेत्र र तराईका मतदान केन्द्रमा ढिलोमा पनि सोमबार अपराह्नसम्म कर्मचारी पुग्ने आयोगको तयारी छ। मतपत्रलगायत सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको छ। आयोग र प्रहरी मुख्यालयले सिलबन्दी गरिएका सामग्रीको २४सै घण्टा निगरानी गर्न निर्देशन दिएको छ।
मतदान केन्द्र निर्धारण कार्यविधिअनुसार प्रत्येक स्थानीय तहको एउटा वडामा कम्तीमा एक मतदान केन्द्र रहने व्यवस्था छ। एक केन्द्रमा एक हजारभन्दा बढी मतदाता नहुने प्रावधान छ। मतदाता बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी अलग–अलग केन्द्र तोकिन्छन्। तर एउटै स्थानमा सातभन्दा बढी केन्द्र राख्न नपाइने व्यवस्था छ।
मतदान अधिकृतले चारकिल्ला तोकिएको सूचना प्रकाशित गरेपछि सर्वपक्षीय बैठक आह्वान गर्नुपर्नेछ। त्यसपछि प्रचारप्रसार रोकिएको सूचना जारी गरिनेछ। मतदान सुरु भएदेखि सम्पन्न हुँदासम्म सर्वपक्षीय बैठक गर्ने, मतपेटिकाको मुचुल्का तयार गर्ने लगायतका जिम्मेवारी मतदान अधिकृतको हुनेछ।
मतदान सकिएपछि दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका मुचुल्का गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने आयोगले जनाएको छ।

